म्याग्दी, २३ कात्तिक । म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले दसैँ-तिहारको लामो बिदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीको घरदैलोमै पुग्ने फरक अभ्यास थालेको छ। परम्परागत रूपमा विद्यालयमै मात्र विद्यार्थीको अवस्था बुझ्ने प्रचलनभन्दा बाहिर ψ जाँदै विद्यालयले विद्यार्थीको घर-आँगनमै पुगेर उनीहरूको पठनपाठन र पारिवारिक वातावरणबारे जानकारी लिन थालेको हो।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक र पूर्वविद्यार्थीको सहभागिता रहेको टोलीले कात्तिक १ गतेदेखि सेवा क्षेत्रका विभिन्न बस्तीमा पुगेर अभिभावकसँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ। बिदाको समयमा बालबालिकाले गृहकार्य गरे-नगरेको, घरायसी वातावरण कस्तो छ र उनीहरूले प्रयोगात्मक सीप सिकेका छन् वा छैनन् भन्ने विषयमा जानकारी लिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको विद्यालयका शिक्षक गणेश केसीले जानकारी दिनुभयो।
अभिभावकसँगको यस प्रकारको भेटघाटले विद्यार्थीको सिकाइमा परिवारको भूमिकालाई अझ मजबुत बनाउनुका साथै आगामी दिनमा विद्यालयको शैक्षिक सुधारका लागि महत्त्वपूर्ण सुझावसमेत प्राप्त भएको प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले बताएका छन्। समुदाय र विद्यालयको सम्बन्धलाई थप बलियो बनाउने यो अभियानले अभिभावकमा पनि आफ्ना नानीबाबुहरूको पढाइप्रति चासो बढाएको छ।
स्रोत: रासस